यात्रामा अक्षरहरु

भदौ, २०७५

-कविताः रिमा केसी

कागजको धर्तीमा जन्मेर
धर्का र डिकोहरुको आँगनमा बामे सर्दै
शब्दका पहाडहरु चढ्दै
वाक्यका गोरेटोहरु छिचोल्दै
हरफका जङ्घारहरु तर्दै
अनुच्छेदका घना जङ्गलहरु काटेर
महान् अर्थको गन्तव्यमा पुग्ने यात्रामा छन् अक्षरहरु

इतिहासका काँडाघारीमा निडर बनेर
दोधारको दोबाटोमा नअल्झिकन
सिर्जनाका पाठशालामा
खोज र प्रयोगका शूत्र पहिल्याउँदै
कहिले बुद्ध बनेर
कहिले सुकरात बनेर
कहिले न्यूटन र आइन्सटाइन बनेर
मस्तिष्कको ब्रम्हाण्डमा
विवेकको नक्षत्र आविष्कार गर्ने
यात्रामा छन् अक्षरहरु

समयको आरनमा खारिदै
हतास बनाउने बताससँग जुझ्दै
डेथ जोनका चुनौतिलाई ललकारेर
जिन्दगीका सारा रहस्यलाई उद्घाटित गर्न
सत्यको सगरमाथा चढ्ने यात्रामा छन् अक्षरहरु

म पछ्याइरहेछु साहसी अक्षरका पदचापहरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *