बहस : किन बन्यो सिंगापुर ? किन बनेन नेपाल ? लि क्वान युको किताब ‘फ्रम थर्ड वर्ल्ड टु फष्ट’ पढेपछि

केही बर्षयता हामी ‘नेपाल किन बनेन ?’ भन्ने बहसमा छौं । यदि यो प्रश्न, यो विमर्श ठीकै हो भने यसको वैपरित्य पनि हुन्छ । प्रश्नको अर्को पाटो पनि हुन्छ । सायद त्यो प्रश्न ‘अरु देश किन बने ?’ भन्ने हो ।

समकालीन विश्वमा अरु देश कुन कुनलाई भन्ने ? कति बनेकोलाई ‘बनेको’ भन्ने ? कति समयमा बनेकोलाई ‘बनेको’ भन्ने ? कस्तो प्रणाली र पद्दतिलाई ‘बनेको’ भन्ने ? यी प्रश्नहरुले नियाल्ने क्षितिज निक्कै फराकिलो हुन्छ । यो आलेखको उद्देश्य त्यसमा प्रवेश गर्नु हैन ।

समकालीन विश्वमा ‘बनेका’ देशहरुको एउटा राम्रो दृष्टान्त सिंगापुरलाई मान्ने गरिएको छ । सिंगापुर स्टोरी आर्थिक समृद्धि र विकासको एक रोचक ‘केस स्टडी’ हो भन्ने कुरामा सायदै विमति होला । नेपाल किन बनेन ? सिंगापुर किन बन्यो ? यी दुई प्रश्न समकालीन विश्वको रोचक वैपरित्य हुन सक्छन् । विशेषतः हामी नेपालीका लागि ।

तर, यहाँनेर एउटा अर्को प्रश्न जिवितै रहन्छ, के हामी यो बिषयमा विना पूर्वाग्रह तुलनात्मक अध्ययन गर्न तयार हौंला ? यो असंभव त हैन, तर निक्कै गाह्रो कुरा हो । कम्तिमा आजसम्म असम्भव बनेको कुरा हो । किनकि हाम्रो ‘माइन्ड सेट’ जसरी बनेको छ, सिंगापुरको अनुभवले त्यसलाई धेरै हदसम्म भत्काइदिन्छ ।

‘माइन्ड सेट’ भत्काउनुपर्ने विन्दूमा पुगेपछि सायद हामीले कहालिएको स्वरमा भन्ने छौं- ‘भो, बरु हामी गरिबै रहन्छौं, बन्नु छैन हामीलाई धनी । नेपाललाई नेपालजस्तै रहन देऊ, हामीलाई हाम्रै बानीब्यहोरा ठीक छ । हामीलाई हाम्रै खस्ता हाल ठीक छ । सिक्दैनौं हामी कोहीबाट ।’

डम्बर खतिवडा
ठीक यस्तै कोलाहल सन् १९६० को दशकमा सिंगापुरमा थियो । राजनीति र राज्य व्यवस्थाका केही विश्वव्यापी साझा विशेषता र नियतिहरु छन, हुन्छन् । लि क्वान यूले सिंगापुर बनाउला भनेर, मान्छे चिनेर, सजिलै पत्याएर कसैले उनलाई सिंगापुरको सत्तामा राखिदिएको थिएन ।

उनी कुनै पुरानो पार्टीको संगठन र भोटबाट सत्तामा आएका थिएनन् । पिपल्स एक्सन पार्टी ‘पाप’ ले त्यहाँका पुराना पार्टीहरुसँग गर्नु परेको शक्ति संघर्ष आफैंमा एक रोचक अध्याय हो, देश बनाउने अनुभवको । ‘ढुंगाको काप फोरेर पनि उमि्रन्छ पिपल’ भनेझैं देश बनाउने नेतृत्वले आफ्नो क्षमता आफ्नै दृढता र जीवन व्यवहारबाट पुष्टि गर्नु पर्ने रहेछ ।

आज तिनै मान्छे लि क्वान युलाई आधुनिक सिंगापुरको ‘संस्थापक पिता’ मान्दछन् । कुनै समय मलेसियाले अनावश्यक ठानेर आफ्नो फेडेरेशनबाट हुत्याएर बाहिर फालिदिएको सिंगापुरको आजको सफलता सबैका लागि कल्पना बाहिरको कुरा थियो । आज सिंगापुर आर्थिक, मानवीय विकास वा सुशासन, सबै प्रकारका सुचकहरुमा विश्वका उच्च ७ मुलुकभित्र छ ।

अरु त अरु यो सफलताका लागि स्वयं लि क्वान युसंग कुनै बनिबनाउ बाटो वा मार्गचित्र थिएन । यदि हुन्थ्यो भने मलेसियाले गलहत्याउँदा उनी रुदै मलेसियाको संसद भवनबाट बाहिरिने थिएनन् ।

तेस्रो विश्वदेखि पहिलो विश्वसम्म

सन् २००० मा तिनै लि क्वान युको किताब ‘फ्रम थर्ड वर्ल्ड टु फष्ट : द सिंगापुर स्टोरी : १९६५-२००० प्रकाशित भयो । त्यसयता यो किताब निरन्तर विश्व पुस्तक बजारमा ‘वेष्टसेलर’ रहँदै आएको छ ।

विधाले आत्मकथा भए पनि यो मूलतः सिंगापुर सफलताको कथा हो । लि क्वान यु अनुभव हो । यहाँ केही स्टोरीहरु छन् । केही मानकहरु छन् । त्यसले आजको नबनेको नेपालका लागि ऐनाको काम गर्दछन् । बनेको सिंगपुरको अनुभवको ऐनामा नबनेको नेपालको प्रतिबिम्ब कस्तो देखिएला ? यो आलेखको सीमा त्यति मात्र हो ।

किताबको प्रारम्भ गर्दै लि क्वान यु लेख्छन्-‘घर कसरी बनाउने, इन्जिन कसरी मर्मत गर्ने, किताब कसरी लेख्ने भनेर तपाई सिकाउने पुस्तकहरु पाइन्छन् । तर चाइना, व्रिटिस इन्डिया र डच इस्ट इन्डिजबाट बाहिर छरिएर संकलित भएका आप्रवासीहरुको राष्ट्र कसरी निर्माण गर्ने, क्षेत्रीय व्यापारिक केन्द्रको पुरानो आर्थिक भूमिका गुमाएर मृतप्रायः बनिरहेका जनतालाई कसरी जिवन्त बनाउने भनेर सिकाउने पुस्तक मैले कतै देखिनँ ।’

यो वाक्यमा २ वटा ध्यान दिन योग्य कुरा छन् ।

एक- कुनै पनि राष्ट्र निर्माणको बनिबनाउ मोडेल हुँदैन । त्यो अरु कसैले सिकाउन सक्दैन । स्वयं त्यो देशका जनता वा नीति निर्माताले आफै पत्ता लगाउन सक्नु पर्दछ ।

दुई-राष्ट्र निर्माणको मोडेल तयार गर्दा मुख्य ३ वटा तत्व प्रमुख हुन्छन् । जनसंख्या संरचनाको ऐतिहासिकता, भूराजनीति र आर्थिक संभावना ।

पुस्तकको यो प्रारम्भीक वाक्यलाई उपसंहार खण्डको अर्को एक वाक्यसंग जोड्नु उचित हुन्छ । उनी लेख्छन- ‘हामी कामबाट सिक्थ्यौं, छिटट्ै सक्थ्यौं । हाम्रो सफलताको एउटा मात्रै शुत्र थियो, कसरी चिजहरुलाई बढी कामकाजी बनाउने भनेर, तिनीहरुलाई अझ राम्रो कसरी बनाउने भनेर निरन्तर अध्ययन गथ्र्यौ । म कहिल्यै कुनै सिद्धान्तको बन्दी बनिनँ । मलाई कारण र यथार्थहरुले मात्र मार्गदर्शन गर्न सके, सिद्धान्तले हैन । कुनै पनि सिद्धान्त, योजना वा सोचले राम्रो काम गर्छ, गर्दैन भन्ने ‘एसिड टेष्ट’ (द्रूत जाँच ) गर्थें । यदि कुनै चिजले राम्रो काम गर्दैनथ्यो वा कमजोर परिणाम दिन्थ्यो भने त्यस्तो चिजमा म थप समय र स्रोत खर्चिन्नथें ।’

यो वाक्यले राज्य निर्माणमा तेस्रो ध्यान दिन योग्य कुरालाई उजागर गर्दछ । त्यो हो- शास्त्रीय सिद्धान्तको जडताभन्दा बाहिर व्यवहार, कार्यशैली र परिणामहरुको प्रयोजनशील सम्परीक्षण गर्नु ।

नेपाल किन बनेन भन्ने कुरा गर्दा हामीले यी ३ वटा सन्दर्भहरुलाई एक ठाउँमा जोड्नैपर्छ ।

एक-हामीले हाम्रो जनसंख्या संरचनाको ऐतिहासिकता र मनोविज्ञानलाई कति महत्व दियौं वा दिएनौं ? त्यसको संरचनागत संवोधन गर्यौं वा गरेनौं ?

दुई-हामीले हाम्रो भूराजनीति र आर्थिक संभावना बीच तारतम्य मिलाउन सक्यौं वा सकेनौं ? कुटनीतिलाई भूराजनीतिक जटिलताबीच आर्थिक लाभ लिने दिशामा केन्दि्रत गर्यौं कि गरेनौं ?

तीन- हाम्रा लागि पुँजीवाद वा साम्यवाद वा औधोगिक क्रान्तिकालिन युरोपेली सिद्धान्तहरुको अतिसय मोह र त्यही मोहमा आधारित राजनीतिक ध्रुविकरण किन पि्रय बन्यो ? किन हामीले रिजल्ट नदिने सिद्धान्तहरुलाई बोकिराख्न चाहृयौं ? शासकीय क्षमतालाई किन परिणाममुखी व्यवस्थापकीय क्षमतासँग जोडेर मूल्यांकन गरेनौं ?

लि क्वानको अनुभवको ऐनाले हामीलाई देखाउने प्रतिविम्व सायद यी प्रश्नमा धेरै हदसम्म अन्तर्निहित छन् ।

सिंगापुरको त्यो परिस्थिति

सिंगापुरको जनसंख्या संरचनामा मुख्य तीन जाति तथा भाषिक समूह मिलेर बनेको थियो । चिनियाँ, मले र इन्डियन, इन्डियनमा पनि विशेषतः तमिल । सिंगापुर आएका चिनियाँहरु मूलतः दक्षिण चीनका आप्रवासीहरु थिए । उनीहरु मेन्डरिन बोल्थे । मलेहरु मले बोल्थे । भारतीयहरु तमिल ।  धार्मिक हिसाबले चिनियाँहरु कन्फुसियसवादी अभ्यासमा आधारित बुद्धिष्ट थिए । मलेहरु  मुस्लिम धर्म मान्थे । इन्डियनहरु हिन्दू  । यी तीनवटै आप्रवासी समुदायका आ-आफ्नै धारणा, सामाजिक मूल्य मान्यता र ऐतिहासिक मनोविज्ञान थिए ।

अर्कोतिर सिंगापुर लामो समय बेलायती साम्राज्यको आधिनमा रहेको हुँदा पश्चिमा संस्कृति र अंग्रेजी भाषाको प्रभाव सबै जातीय समूहमा उत्तिकै थियो । सन् १८१९ मा डचइन्डिजले सिंगापुरलाई अधिन गरेको थियो, सन्  १९७१ मा मात्र विधिवत् बाहिरियो । तसर्थ क्रिश्चियानिटी उत्तिकै बढ्दै थियो । यो अवधिमा सिंगापुरका सबै समुदायमा पश्चिमाकरणको एक सहज प्रवृति र साझापन विकास भएको थियो ।

‘मेनी टङ्गस वन ल्याङ्गग्वेज’ यो सन्दर्भमा राम्रो उजागर गर्ने अध्याय हो । मूलतः नेपालका  कटटर/संकिर्ण राष्ट्रवादीहरु जसले संघीयता र समावेशिताप्रति पूर्वाग्रह राख्दछन्, यो अध्याय उनीहरुका लागि महत्वपूर्ण छ । लि क्वान भन्छन- ‘आर्थिक कारणले मात्र जातीय तथा  सांस्कृतिक झुकावको अन्त्य नहुने रहेछ ।’ यो शुत्रमा आधारित भएर उनले ‘सिंगापुर समावेशिता’ को मोडेल निर्माण गरे ।

सिंगापुरमा कुल जनसंख्याको करिब ७५ प्रतिशत चिनियाँहरु थिए  । यति ठूलो  जनसंख्याले. अल्पसंख्यकहरुको भावनालाई खासै ध्यान नदिएको भए पनि बहुमतीय लोकतन्त्रको दृष्टिकोणबाट अपराध हुँदैनथ्यो होला । तर, लि क्वानले त्यसो गरेनन् ।

त्यसको कारणबारे उनी भन्छन-‘ मलेहरुमा मलेसियाबाट बाहिरिनुपरेको पीडा थियो । उनीहरु आफूहरु चिनियाँहरुबाट जुनकुनै बेला असुरक्षित हुन सक्छौं भन्ने मनोवैज्ञानिक भय राख्थे । मले र चिनियाँहरुको बीचमा कुनै सानो दंगा वा भनाभन हुने वित्तिकै उनीहरु सिंगापुरलाई फेरि मलेसियामा गाभ्नुपर्ने कुरा गर्न थाल्थे । भारतीयहरु मूलतः यहाँ श्रमिकका रुपमा आएका थिए । चिनियाँ र मलेहरुको द्वन्द्व, दंगा वा झगडा उनीहरुलाई मन पर्दैनथ्यो । उनीहरु सुरक्षित वातावरणमा काम गर्न चान्हथे । काम गर्ने ठाउँमा चिनियाँ वा मलेहरुबाट हेपिनु नपरोस् भन्ने मात्र उनीहरुको सोच हुन्थ्यो । सिंगापुर मलेसियामा गाभिनुपर्छ वा स्वतन्त्र रहनुपर्छ भन्ने विषयमा उनीहरुको कुनै बलियो मत थिएन ।’

यी सबै मनोभावनालाई जोडनु, स्वतन्त्र सिंगापुरमा सबैको साझा भविश्य सम्भव छ भनेर प्रत्याभूत गर्नु पाप पार्टी र लि क्वान युको मुख्य चुनौति थियो । त्यो प्रत्याभूत गर्न मेन्डरिन, मले, तमिल र  अंग्रेजी ४ भाषालाई उनले  सरकारी कामकाजको भाषा बनाए । लि क्वान यु आफू चिनियाँ मूलका थिए । यो निर्णयपछि चिनियाँ समुदाय नै उनीसँग रिसायो । तर मले, तमिल र अन्य समुदायको उनले बलियो विश्वास हासिल गरे । स्कुल कलेजमा अंग्रेजी अनिवार्य र मेन्डरिन, मले र तमिल सम्बन्धित समुदायका लागि अनिवार्य र अरु समुदायका ऐच्छिक भाषा बनाइयो ।  स्कुल र कोलनीहरुमा सबै समुदायका लागि कोटा तोकियो । लि क्वान युले पार्टी र राज्यको नेतृत्व समुहमा यी सबै समुदायका साथीहरुको उल्लेखनीय भूमिका निर्माण गरे ।

आधुनिक लोकतान्त्रिक राज्यमा राष्ट्रियताहरुको समिश्रण कसरी हुनसक्छ भनेर बुझन् यो एक राम्रो उदाहरण हो । विशेषतः नेपालमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, भीम रावल, कमल थापा, चित्रबहादुर केसी मार्का नेताहरुले यो अध्याय राम्ररी मनन गर्न आवश्यक छ । नेपालको जातीय,भाषिक र सँास्कृतिक विविधताको अझै संरचनागत समायोजन भइसकेको छैन, यदि सिंगापुर अनुभवलाई आधार मान्ने हो भने बहुसाँस्कृतिक मुलुकमा समावेशिता विना आर्थिक संमृद्धिको युग शुरुवात हुन असंभव हुन्छ  ।

दोस्रो भूराजनीतिको प्रश्न थियो । त्यसका पनि मुख्य ४ वटा तत्वहरु थिए ।

पहिलो-  मलेसिया नै थियो, जसले निर्दयतापूर्वक सिंगापुरलाई मले संघबाट बाहिर खेदेको थियो, जो सिगापुरको भविष्यबारे आश्वस्त थिएन । उसलाई सिंगापुरी जनताको कुनै मतलब थिएन ।

दोस्रो-चीन थियो, जो चिनियाँ मूलका जनताको बहुसंख्याका कारण सिंगापुर मामिलामा रुचि राख्थ्यो । चीनमा कम्युनिष्ट शासन झनै मजबुत हुँदै थियो ।  हिन्दचीन क्षेत्रमा कम्युनिष्ट छापामारहरुको शसस्त्र गतिविधि तीव्र थियो । भियतनाम युद्ध संघारमै अनुभूत भइरहेको थियो ।

तेस्रो-वेलायती सेना सिंगापुरमा छँदै थियो । उसलाई चातुर्यतापूर्वक बर्हिगमित गराएर सिंगापुरको स्वतन्त्रतालाई वास्तविक रुपमा प्रत्याभूत गर्नु थियो ।

चौथो-इन्डेेनेशिया थियो जो सिंगापुरका लागि सदाबहार दुश्मनजस्तो थियो  ।

यस्तो अवस्थामा सिंगापुरको आर्थिक विकासका लागि ठीक रणनीति के हुन सक्छ ? यो सिंगापुरको अर्को चुनौति थियो ।

कम्युनिष्ट चीनसँग नजिकिने वित्तिकै बेलायत सिंगापुर छोड्न तयार हुँदैनथ्यो । चीन हिन्दचीन क्षेत्रका सशस्त्र कम्युनिष्ट समूहलाई भित्रभित्रै सहयोग गर्दै थियो । अमेरिका त्यसलाई रोक्न चाहन्थ्यो । यस्तो बेला लि क्वान यूले  बेलायती सेनालाई फकाएर फिर्ता पठाए । तर, बेलायतसँग न नजिक र न टाढाको व्यवहार गरे । इन्डोनेशियालाई फकाएर शत्रुबाट मित्रु बनाए । चीनप्रति तटस्थ नीति अख्तियार गरे । सिंगापुर सेना निर्माणमा इजरायलको सहयोग लिए ।  भारत र  सोभियत रुसलाई विश्वस्त राखे र अमेरिकी लगानीलाई व्यापक रुपमा भित्र्याए ।

यदि उनी चीनसँग नजिकिन्थे भने हिन्दचीन क्षेत्रमा कम्युनिष्ट समूहलाई सहयोग गर्नुपर्ने हुन्थ्यो । बेलायतले हङकङझै सिंगापुर कब्जा गर्दिन्थ्यो । मलेसियासँग नजिकिँदा  सिंगापुरको बहुमत चिनियाँ जनसंख्या असन्तुष्ट हुन्थ्यो ।  भारत ठूलो भए पनि आफै गरिब राष्ट्र थियो, सिंगापुरका लागि धेरै लगानी गर्न सक्दैनथ्यो । नेटोमा सामेल भएको भए सिंगापुरले भियतनाम युद्धमा पश्चिमाहरुलाई साथ दिनु पर्ने हुन्थ्यो ।

यी सब परिस्थितिबाट लि क्वान यु चातुर्यपूर्वक बाहिर निस्किए । उनले सैन्य मामिलामा तटस्थता र आर्थिक विकासका लागि धेरै टाढाको देश अमेरिका र नोर्डिक मुलुकबाट लगानी भित्र्याउने नीति लिए ।

नेपालको पाटो

नेपालका लागि पनि भूराजनीति आर्थिक विकासको एक बिशिष्ट पक्ष हो ।  भारत, चीन, अमेरिका, युरोपियन युनियनजस्ता ४  मुख्य सरोकारवाला शक्ति र बाँकी विश्वसंगको नेपाल नीति अद्यापि अपरिभाषित छ । नेपालका अधिकांश शासकहरु भारतको विरोध गरेर सत्तामा पुग्छन् अन्ततः भारतकै हितमा काम गर्न थाल्छन् ।  त्यतिखेर मात्र चीनतिर फर्किन्छन् जतिखेर भारतसँग चाइना कार्ड खेल्नुपर्ने हुन्छ ।

बेलायत, फ्रान्स, इटली, रुस, जर्मनी आदि शक्तिशाली युरोपेली देशहरुसँग नेपालको सम्बन्ध यतिखेर मृतप्रायः छ । अमेरिकी चासो चीन र तिब्बतसँग जोडिएको छ, नेपालसँग हैन । त्यो चासोलाई पनि कसरी उपयोग गर्ने भन्ने रणनीति नेपालसँग छैन । सबै चिजमा भारत निर्भर हुँदै जानु, भोट जित्न मात्र भारतको विरोध गर्नु नेपालको नियति भएको छ ।

नेपालले यतिखेर युरोपेली मुलुकसँगको सम्बन्धलाई पुनर्जाग्रित गर्न आवश्यक छ । अमेरिकाको इन्डोप्यासिफिक रणनीतिभित्र नेपालका हित चातुर्यतापूर्वक उपयोग गर्नुपर्छ । भारतसँगको सम्बन्धलाई प्रतिक्रियात्मक नभएर दीगो विश्वासमा आधारित बनाउन आवश्यक छ ।

‘लो प्रोफाइल’ कुटनीतिमा आधारित भएर चीनसँगका सम्भावनालाई उपयोग गर्नुपर्ने हुन्छ । चीनसँगको सम्बन्धलाई अतिरञ्जित गर्नेवित्तिकै नेपालको भारत र अमेरिकासँगको सम्बन्धले सन्तुलन गुमाउँछ । तर, नेपाली कुटनीतिको गुणस्तर र सोच त्यो स्तरमा उठेको छैन । नेपालका कुटनीतिज्ञहरुले लि क्वान युको यो पुस्तकको दोस्रो खण्ड ‘इन सर्च अफ स्पेशः रेजिनल एण्ड इन्टरनेशनल’ गहिरो अध्ययन गर्न आवश्यक छ ।

कम्युनिष्ट र पश्चिमा दुबैको आलोचना

पुस्तकको ‘द कम्युनिष्ट सेल्फ डिस्ट्रक्ट’ तेस्रो प्रश्नमा प्रवेश गर्न उपयुक्त अध्याय हो । यसमा लि क्वान युले कम्युनिष्ट सिद्धान्त र व्यवहारका समस्याको मात्र हैन, यदि सिंगापुरले कम्युनिष्ट बाटो रोजेको भए, के नौवत आउने थियो, अहिलेको समृद्ध सिंगापुर किन सम्भव हुने थिएन भनेर सांकेतिक चर्चा गरेका छन् ।

लि क्वान युको विश्वासमा-‘लिवरल भ्यालु केवल पुुँजीवादी दर्शनको एक गुण हैन, त्यो मानवीय विकासको एक पाटो हो ।’ यहाँसम्म कि स्टाफोर्ड राˆलेस जो सिंगापुर आउने पहिलो डचइन्डिज अधिकारी थिए, उनको समेत प्रसंशा गर्दै भन्छन्- ‘यदि राफ्लेस सिंगापुर नआएको भए मेरा पूर्खाहरु पनि दक्षिण चीनबाट नयाँ भविष्यको खोजमा यहाँ आउने थिएनन् । २१९ घर माझीहरुको यो बस्ती आज यति आधुनिक संमृद्ध राज्य हुने थिएन । मेरा पुर्खाहरु  यहाँ आउँनु ठीक थियो, अरु मानिस सिंगापुर आउनु बेठीक हो भन्ने नैतिक अधिकार मलाई छैन ।’

उनी थप्छन-‘सभ्यताको पश्चिमाकरण केवल पश्चिमी सभ्यताको मोह मात्र हैन, विश्व मानवता र विकासको एक पाटो हो, त्यो सम्पूर्ण नहुन सक्छ तर, लोकतन्त्रको प्रश्नलाई छोडेर स्वतन्त्रताको सभ्यता निर्माण हुन्छ भन्ने विश्वास मलाई कहिल्यै भएन, तसर्थ चीनमा त्यति भीमकाय कम्युनिष्ट शासनको प्रादुर्भाव हुँदा पनि एक चिनियाँ आप्रवासीको सन्तानका रुपमा आफ्नो मूलभूमिले पक्रेको बाटोप्रति म आश्वस्त हुन सकिनँ ।’

लि क्वान थप लेख्छन्-‘मैले राजनीति प्रारम्भ गर्दा कम्युनिष्ट सिंगापुर राजनीतिको एक मूल प्रवृति थियो । गरिबप्रतिको सैद्धान्तिक प्रतिवद्धता र त्यागपूर्ण जीवनले उनीहरु जनतालाई प्रभावित गर्ने क्षमता राख्दथे । तर, उनीहरुको विचारमै स्व-ध्वंशको विज थियो । श्रम र पुँजीको प्राकृत सम्बन्धलाई उनीहरु टुटाउँनु पर्ने कडीका रुपमा चित्रण गर्थे । यो शुत्रबाट आर्थिक विकास संभव थिएन । त्यसले अन्ततः कम्युनिष्टहरुलाई  असफलता मात्र हात लाग्न सक्दथ्यो ।’

सिंगापुरको संसदमा त्योबेला कम्युनिष्ट फ्रन्टले ५१ सीटमध्ये १३ सीट जितेको र ३३ प्रतिशत भोट प्राप्त गरेको थियो । सन्  १९६२ को जनमत संग्रहमा कम्यनिष्ट फ्रन्टले सिंगापुर स्वतन्त्रताको विरोध गर्दै मलेसियामा गाभिनुपर्ने पक्षमा भोट माग्यो । यसको दुस्प्रभाव सन् १९६३ को निर्वाचनमा उनीहरु ४ सीटमा सीमित भए । अन्ततः उनीहरु त्यसबाट पनि राजिनामा दिएर बाहिरिए । कम्युनिष्ट सांसदहरुको  राजिनामालाई  लि क्वान युले स्व-ध्वंसको पराकाष्ठाका रुपमा चित्रण गरेका छन ।

पुस्तकमा लि क्वान युले माओको साँस्कृतिक क्रान्तिलाई ‘बुढ्यौलीको क्रान्तिकारी पागलपन’  भनेका छन भने देङ सियाओ पिङको आर्थिक सुधार योजनाको प्रसंशा गरेकाछन ।

‘लोककल्याणकारी राज्य’ भन्दा बेग्लै मोडेल

पुस्तकको प्रथम खण्डको सातौं अध्यायको नाम छ- ‘अ फेयर, नट वेलफेयर सोसाइटी’ । यो अध्यायको प्रारम्भ गर्दै लि क्वान लेख्छन्- ‘हामी समाजवाद, सबैका लागि निष्पक्ष अंशियारीमा विश्वास गथ्र्यौं ।’

धेरैलाई नेपालमा के भ्रम छ भने सिंगापुरको विकास एक सामान्य पुँजीवादी विकास प्रक्रिया थियो । त्यसले लोककल्याणकारी राज्य (वेलफेयर स्टेट ) को अवधारणा अनुसार काम गरेको हो । पुस्तकको यो खण्ड पढ्दा यी धारणा भ्रमपूर्ण लाग्छन् ।

रवीन्द्र मिश्र, मुमाराम खनाल, सूर्यराज आचार्य र केशव दहाललाई लि क्वान युको पुस्तकको यो अध्याय र पश्चिमा पुँजीवादी परोपरकारी लोकतन्त्रको अवधारणा बीच तुलनात्मक अध्ययनका लागि विनम्र अपील गर्दछु

नेपालमा ‘समाजवाद’ शब्द कम्युनिष्ट वा प्रो- कम्युनिष्ट हो भन्ने बुझ्ने गरिन्छ । तर, समाजवाद पुँजीवाद र साम्यवादभन्दा धेरै भिन्न र मौलिक धारणा हो । शास्त्रीय साम्यवादको उद्देश्य ‘इक्वेल सोसाइटी’ हो । धनी र गरिब नभएको, शासक र शासित  नभएको समाज । आज नेपालका सत्ताधारी कम्युनिष्टहरु यो अर्थ र परिभाषा मान्छन् कि मान्दैनन्, मलाई थाहा छैन । तर माक्र्स, लेनिनदेखि माओ वा क्यास्ट्रोसम्म, उनीहरुका यावत ग्रन्थ, इतिहास र अभ्यासले त्यही भन्छ । काल माक्र्स भन्थे- ‘साम्यवादको सिद्धान्तलाई एक वाक्यमा भन्दा निजी सम्पतिको अन्त्य हो ।’

पुँजीवादको उद्देश्य ‘वेलफेयर सोसाइटी’ हो । तर, समाजवादको उद्देश्य न साम्यवादीहरुको जस्तो ‘इक्वेल’ हो न पुँजीवादको जस्तो ‘वेलफेयर’ हो बरु ‘फियर एण्ड जस्ट सोसाइटी’ हो । लि क्वान युले  वेलायत बस्दा लोककल्याणकारी राज्यका सीमाहरु बुझेका थिए । तसर्थ उनले ‘नयाँ  प्रकारको समाजवाद’ अवलम्वन गरे ।

यसबारे उनी लेख्छन्- ‘कल्याणकारी अवधारणाले अनुत्पादक सार्वजनिक खर्च बढाउँछ, मान्छेको आत्मविश्वासलाई कमजोर बनाउँछ भन्ने कुरा हामीले वेलायत र स्वीडेनको उदाहरणबाट बुझेका थियौं । आफ्नो परिवारका लागि आफैं राम्रो काम नगर्ने, परोपकारी कोष ताकेर बस्ने सोच र  शैली दूर्भाग्यपूर्ण हुन्छ । यस्तो भएमा जनताले अभिप्रेरणा र हुटहुटी गुमाउँछन, उत्पादकत्व स्वात्तै घट्छ ।   मान्छेहरु राज्यमा आश्रित हुँदै जान्छन् ।’

लि क्वान थप्छन्- ‘हामीले लोककल्याणकारी राज्यको अवधारणा नमानेको पश्चिमा प्रेसको ठूलो गुनासो र आलोचना थियो । तर, सन् १९८० को दशकमा उनीहरु नै यो अवधारणा असफल भएको निष्कर्षमा पुगे । यो अवधारणाले बजेट घाटालाई निरन्तर बढाउँथ्यो, काम नगरिकन जीवन बिताउने जनसंख्या अनुपात बढ्थ्यो । क्रियाशील जनशक्तिको भन्दा निस्क्रिय जनशक्तिको अनुपात बढ्दै गएपछि अर्थतन्त्र शिथिल हुनु स्वाभाविक हुन्छ ।’

त्यसो भए सिंगापुरले अपनाएको फरक मोडेलचाहिँ के थियो त ? लि क्वानको मोडेलमा दक्ष र स्वास्थ्य जनशक्ति आधुनिक राज्यका आधार स्तम्भ हुन् । त्यसका लागि शिक्षा र स्वास्थ्य सेवा समान गुणस्तरयुक्त र सहज प्राप्य हुनुपर्छ । तेस्रो कुुरा, आवास हो । शहरी महंगो जमिन वा घरभाडाले  मान्छेको जीवनलाई निक्कै असहज बनाउँछ । त्यसका लागि व्यवस्थित अपार्टमेन्ट वा कोलनीहरु बनाउने र सस्तो किस्तावन्दी विधिमा उपलब्ध गराउने । शिक्षा, स्वास्थ्य र आवास सेवाले न्यूनतम् गरिमामय जीवनलाई सुनिश्चित गर्छ ।

त्यसपछि रोजगार, कार्यक्षेत्रको वातावरण र प्रोत्साहनात्मक ज्याला प्रणाली जरुरी हुन्छ । हरेक नागरिकको ज्यालाको न्यूनतम् रकम ( ५ प्रतिशत ) बुढेसकालमा लागि सञ्चित हुने प्रणाली बनाइयो, जुन रकम निवृति जीवनमा रिफण्ड हुन्थ्यो । यी कार्यका लागि सिंगापुरले हाउजिङ एण्ड डेभलपमेन्ट बोर्ड (HDB) र केन्द्रीय संचय कोष (CP) को अवधारणा लागू गर्‍यो ।

यहाँनेर अर्को प्रश्न उठ्छ- सामाजिक सुरक्षा सम्बन्धी  लोककल्याणकारी अवधारणा र समाजवादी अवधारणामा के भिन्नता छ ? लोककल्याणकारी अवधारणाले खुल्ला बजार अर्थतन्त्रका यावत नियमहरु क्रियाशील हुन दिएर त्यो प्रक्रियाबाट सीमान्तकरण भएका मान्छेहरुको सीमान्त जीवन निर्वाहका लागि राज्यले परोपकारी कोषबाट लगानी गर्छ ताकि उनीहरुको जीवन जसोतसो चलोस्, विद्रोह र अशान्तिको भावना नआओस् भन्ने ठान्छ ।

समाजवादी अवधारणले सबैको गरिमापूर्ण जीवनलाई अधिकारका रुपमा प्रत्याभूत गर्छ । दक्ष, स्वास्थ्य र क्रियाशील जनशक्तिमार्फत् समग्र अर्थतन्त्रको गुणात्मक विकास गर्नु त्यस प्रक्रियामा ‘फियरनेश’ लाई वितरण प्रणालीको मुख्य आधार बनाई सामाजिक बजार अर्थतन्त्रको फरक अवधारणा निर्माण गर्नु समाजवादी तरिका हो  ।

यो मानकबाट नेपाललाई हेर्दा कतै कुनै तारतम्य देखिँदैन । नेपाली कांग्रेसको सोच सामाजिक सुरक्षालाई नै अस्वीकार गर्ने र नवउदारवादी खुल्ला बजार अर्थतन्त्रतिर प्रवृत छ । शिक्षा, स्वास्थ्य र आवासको समान गुणस्तर र उपलब्धतालाई अहिलेसम्म कुनै सरकारले पनि लागू गरेका छैनन् ।  डा. बाबुराम भट्टराई अर्थमन्त्री छँदा शुरुवात गरेको सामाजिक सुरक्षा कोषको जम्मा रकमलाई ओली सरकारले सामाजिक सुरक्षा कार्यक्रमका रुपमा  प्रोपागण्डा त गर्‍यो तर, त्यो सम्पूर्ण नागरिक तहमा विस्तारित छैन । कम्युनिष्टहरुले सानो रकमको जेष्ठ नागरिक भत्तालाई नै अतिरञ्जनापूर्ण प्रचारबाजी गरेर भोट बैंक निर्माण गरेका छन् ।

परोपकारी लोकतन्त्रको चर्को पैरवीकर्ताका रुपमा नयाँ साथीहरु देखिएका छन् साझा पार्टीका रुपमा । तर, यी चिजहरुबारे उनीहरुको अध्ययन र  बौद्धिक सीमा भने निरन्तर अनावृत हुँदै गइरहेको छ । यस पार्टीका नीतिकर्ता मित्रहरु रवीन्द्र मिश्र, मुमाराम खनाल, सूर्यराज आचार्य र केशव दहाललाई लि क्वान युको पुस्तकको यो अध्याय र पश्चिमा पुँजीवादी परोपरकारी लोकतन्त्रको अवधारणा बीच तुलनात्मक अध्ययनका लागि विनम्र अपील गर्दछु  ।

ट्रेड युनियनवाद समद्धिको बाधक

‘विनिङ्ग ओभर द युनियन्स’ अध्यायमा उनले परम्परागत ‘ट्रेड युनियानिज्म’ ले सुशासन र समृद्धिमा पुर्‍याउने हानीलाई गहिरो चित्रण गरेका छन् । यसको अर्थ यो हैन कि एक लोकतान्त्रिक मुलुक श्रम संगठन अधिकारको विरुद्धमा हुन सक्दन वा हुनुपर्छ । तर, श्रम संगठनको सीमा के हो ? त्यसले कुन विन्दूसम्म सकारात्मक भूमिका गर्छ र कुन विन्दुमा पुगेर हानिकारक हुन सक्छ भन्ने सीमांकन चाहिँ हुनुपर्छ ।

लि क्वान यु पेशाले वकिल थिए । वेलायतमा पढेर फर्किएपछि सिंगापुरमा उनले आफ्नो सार्वजनिक तथा पेशागत जीवनको शुरुवात नै पीडित मजदुरहरुको मुद्दा लडेर गरे । तर, परम्परागत कम्युनिष्ट पृष्ठभूमिका ट्रेडयुनियनहरु जसले बन्द, हडताल, तोडफोडलाई सर्वथा प्रयोग गर्दथे, त्यो फलदायी छैन भन्ने उनलाई छिट्टै अनुभूति भयो । उनले सिर्जनाशील श्रमसंगठनहरु, ज्याला आयोग र व्यवस्थापनमा श्रमिक संगठनको सहभागिता र सामाजिक सुरक्षा अवधारणाको प्रयोग गरे । नेपालमा पनि युनियनहरुको भूमिका, संगठनात्मक ढाँचा र चरित्र परिवर्तन निक्कै ठूलो एजेण्डा हो । नेपाल बन्ने न बन्ने कुरासँग यो सिधै जोडिएको छ ।

नेपालमा शिक्षक, कर्मचारी, प्राध्यापक, सार्वजनिक संस्थानहरुमा दलीय ट्रेड युनियन किन र कसरी आवश्यक  र उपयुक्त हो ? ती किन खारेज हुनु नपर्ने ? यसको कारण कसैले बताएको छैन । श्रम प्रधान उद्योग र पेशागत क्षेत्रहरुमा किन एकल ट्रेड युनियनहरु निर्माण नगर्ने ?  ट्रेड युनियनहरुले सामुहिक सौदाबजी गर्नु स्वाभाविक हो, तर श्रमिक वर्गको क्षमता अभिबृद्धि गर्न त्यो रचनात्मक र सृजनशील हुनै पर्दछ । अबको युगमा श्रमिक संगठनहरुको काम मान्छेलाई केवल श्रमिक मनोविज्ञान निर्माण गर्न सीमित गर्नु हैन, उनीहरुमा सीप, प्रविधि र व्यवस्थापन क्षमताको हस्तान्तरणमार्फत् साना उद्यमीहरुमा परिणत हुन प्रेरित गर्नु हो ।

सुशासन र सदाचार स्थापनाका लागि गरिएका प्रयासहरु

किताबको ‘किपिङ्ग द गोवर्नमेन्ट क्लिन’ नेपालका लागि अर्को उत्तिकै सान्दर्भिक अध्याय हो । यस अध्यायमा लि क्वानले सुशासन र सदाचार स्थापनाका लागि गरिएका प्रयासहरुको चर्चा गरेका छन् ।  अवैतनिक र गैरपेशेवार राजनीतिज्ञहरुको समर्पित टिम निर्माण गर्ने कार्यलाई उनले यसको पूर्वशर्त मानेका छन् ।

‘पाप’ पार्टी निर्माण गर्दा आफू र आफ्ना साथीहरुको पारिवारिक जीवनको चर्चा गर्दै उनी लेख्छन्-‘हाम्रा श्रीमतीहरु काम गर्थे । विभिन्न पेशा गर्थे ।  हामी जेल पर्‍यौं वा परिवारसँगसँगै रहन नसक्ने  अवस्था आयो भने पनि परिवार धान्न सक्ने थिए । यो हाम्रा लागि ठूलो नैतिक बल थियो । यसले हामीलाई शुद्ध जीवनको आदर्श चिन्तन गर्ने कम्युनिष्टहरुलाई टक्कर दिन सजिलो बनाउँथ्यो ।’

उनले पहिलोपटक सरकारको सपथ गर्दाको क्षण सम्झँदै लेखेका थिए-‘पहिलो पटक सरकार गठनको सपथ गर्दा म लगायत मन्त्रिमण्डलका सबै सदस्यले साधारण सेतो टिसर्ट लगाएका थियौं । सेतोको अर्थ थियो- सफा । सरकार सफा नहुन्जेलसम्म सिंगापुरको उन्नति सञ्भव छैन भन्ने सन्देश दिन हामीले सेतो रंग रोजेका थियौं ।’

निर्वाचन र सुशासनबीचको अन्तरसम्बन्ध केलाउँदै लि क्वान लेख्छन्- ‘एक इमान्दार र स्वच्छ सरकारको पूर्वशर्त भनेकै उम्मेद्वारहरुले धेरै खर्च नगरिकन चुनाव जित्न सक्ने वातावरण हो । यदि यस्तो हुन सकेन भने त्यसले भ्रष्टाचारको दुष्चक्र निर्माण गर्छ । एशियाली देशहरुमा हुने भ्रष्टाचारको मुख्य कारणमध्ये एक उम्मेद्वारहरुको उच्च निर्वाचन लागत हो । निर्वाचनमा धेरै खर्च गर्नु परेपछि जित्नेले त्यो खर्च उठाउनै पर्छ र अर्को निर्वाचनको तयारीका लागि सञ्चय गर्नैपर्छ ।’

यो चक्र अन्ततः ‘व्यापारिक लोकतन्त्र र खरिदिएको जनादेश (Commercial  Democracy and Purchased Mandate)’ बन्न पुग्दछ ।

भ्रष्टाचारको अर्को कारण उनले कर्मचारीहरुको तलबभत्ता कम हुनुलाई मानेका छन् । उनी भन्छन्- ‘उच्चपदस्थ कर्मचारी र नेताहरुको  तलबभत्ता उच्च हुनैपर्छ । तर, त्यसबाहेक उनीहरुलाई कहीँकतै हात लगाउन, छुन पनि दिनुहुँदैन ।’

यी दुई मानकबाट हेर्ने हो भने नेपालको तस्वीर निक्कै निराशाजक देखिन्छ । निर्वाचन खर्च नेपाली लोकतन्त्रको ठूलो समस्याका रुपमा देखिएको छ । लि क्वान यु भन्छन् ‘लोकतान्त्रिक निर्वाचनलाई जबसम्म एजेण्डा आधारित बनाइँदैन, जस्तै राम्रा मान्छेहरुले पनि चुनाव जित्दैनन् र ठूलो खर्च गरेर जितेका उम्मेद्वारहरु देश र जनताप्रति इमान्दार हुने कुनै गुञ्जाइस रहँदैन । राज्यको पतनको एउटा कारण यही बन्न पुग्छ ।’

लि क्वान भ्रष्टाचारविरोधी कार्यको कठोरता मन्त्रिमण्डलबाट शुरुवात हुने ठान्दथे । उनले आफ्नो मन्त्रिमण्डलका ३ मन्त्रीलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरेको, त्यसमध्ये एकजना आफ्ना असाध्यै मिल्ने साथी भएको र बर्खास्तीपछि उनले आत्महत्या गरेको  घटनासमेत उल्लेख गरेका छन् ।

भरतमोहन अधिकारीले शुरुवात गरेको जेष्ठ नागरिक भत्ता सिंगापुरभन्दा बढी युरोपियन मोडेलको लोककल्याणकारी कार्यक्रम थियो । डा. रामशरण महत र महेश आचार्यजस्ता अर्थमन्त्रीका आर्थिक नीतिमा सिंगापुर मोडेलसँग तुलनायोग्य कुनै कार्यक्रम देखिँदैन । वर्तमान ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले  लि क्वान युको यो पुस्तक पक्कै पढेका होलान् । तर, सिंगापुर सफलताको मोडेल र ओली सरकारका नीतिहरु विपरीत लाग्छन् ।

सामुहिकतामा विश्वास

‘कन्डक्टर अफ आर्केष्ट्रा’ पुस्तकको अर्को रोचक अध्याय हो । यस अध्यायमा उनी राज्य सञ्चालनमा सक्षम समूहकार्यको महत्वबारे जोड दिन्छन् । उनी भन्छन्-‘सरकार चलाउनु आर्केष्ट्र बजाउनुभन्दा खासै फरक छैन । प्रधानमन्त्री आफैं बाधक हुन जरुरी छैन । तर, उसलाई यो थाहा हुनु पर्दछ, कुन बाजाबाट कस्तो धुन आउनुपर्छ र त्यस्तो धुन आउने गरी कसले बजाउन सक्छ । मैले कमजोर मान्छेहरु नियुक्त गरेर राम्रो कामको आशा कहिल्यै राखिनँ । मैले सधै त्यस्ता मान्छे नियुक्त गर्न चाहंे, जो सम्बन्धित कामका लागि सबैभन्दा उपयुक्त होस् ।’

पुस्तकमा उनी थप्छन् -‘असल सरकार हुन असल व्यक्तिहरुको समूह चाहिन्छ ।’ प्रणाली र व्यक्तिबीचको सम्बन्धको चर्चा उनी यसरी गर्छन्- ‘प्रणाली राम्रो  हुनु सौभाग्य हो तर, राजनीतिक प्रणाली राम्रो नै छ भने पनि खराब मान्छेहरुले जनताका लागि सधैं विपत्ति निम्त्याउँछन् । अर्कोतिर कमजोर प्रणालीमा पनि असल व्यक्तिहरुले असल परिणाम निकालेको मैले देखेको छु ।’

उनी नेतृत्वको चर्चा गर्दै भन्छन्- ‘अक्सर नेतृत्व भन्नाले हामी क्षमतालाई सम्झिन्छौं । तर, नेतृत्व भनेको क्षमता मात्र हैन, नेतृत्व सहास, संकल्प, प्रतिवद्धता र चरित्रसहितको क्षमता हो ।’ अर्को एक ठाउँ उनी भन्छन्- ‘अधिकांश मेरा टिमका सदस्यहरु बेलायतमा पढ्दादेखि नै मेरा साथीहरु थिए । त्यहाँ बस्दा हामी मलेसिया र सिंगापुरको सम्बन्ध र भविश्यबारे चिन्ता गथ्र्यौं । सँगै फर्कियौं । सँगै ‘पाप’ गठन गर्‍यौं । हाम्रो जीवनशैलीमा अभूतपूर्व समानता थियो । सरल र सादगीपूर्ण जीवन पद्दति हाम्रो आदत बनिसकेको थियो ।’

लि क्वान फेरि थप्छन्- ‘म साथीहरुलाई निरन्तर अध्ययन गर्न भन्थें । अध्ययनशील हुनु भनेको  हाम्रा लागि पढन्ते हुनु थिएन, बरु त्यस्ता नयाँ आइडियाहरु खोजी गर्नु थियो, जसले हामीले गर्नुपर्ने कामलाई अझ राम्रो पार्न मद्दत गर्दथे ।’

नेपालको चर्चा

लि क्वान युले ७६३ पृष्ठ मोटो पुस्तकमा एक ठाउँमा मात्र नेपालको नाम उल्लेख गरेका छन् । त्यो पनि ब्रिटिस गोर्खा रेजिमेन्टको सन्दर्भमा । उनी भन्छन्- ‘सिंगापुरको स्वतन्त्रतापछि मले र चाइनिजहरुबीच दंगा भइरहन्थे । अविश्वासको वातावरण थियो । यस्तोबेला नेपालबाट भर्ना गरिएका ब्रिटिस गोर्खाहरुको तटस्थतामा विश्वास गर्न सकिन्थ्यो ।’

‘साउथ एशियन लिजेन्ड एण्ड लिडर्स’ भन्ने एउटा अध्याय नै छ किताबमा । तर, त्यसमा भारत, पाकिस्तान र  श्रीलंकाको मात्रै चर्चा छ, नेपालको उच्चारणसम्म छैन । यसले के देखाउँछ भने सिंगापुरका लागि नेपाल खासै रणनीतिक महत्वको  साझेदार थिएन । तर, सिंगापुर नेपालका लागि महत्वको देश यो अर्थमा हुन सक्छ कि उसका सफलताका अनुभवहरु हाम्रा लागि उपयोगी हुन सक्छन् । हामीले थुप्रै चिज सिक्न सक्छौं ।

तर, नेपालका सरकारले कतिको सिकेका छन् त ? किताब पढ्दा लाग्छ- डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा थालनी गरिएका लगानी बोर्डको गठन, सामाजिक सुरक्षा कोषको शुरुवात र बाग्मती किनारबाट सुकुम्बासी हटाई टोखामा सुकुुम्बासी कोलोनी निर्माण सम्भवतः सिंगापुर मोडेलका स-साना झिल्का हुन् ।

अरु सरकार र अर्थमन्त्रीहरुले खासै सिकेजस्तो लाग्दैन । भरतमोहन अधिकारीले शुरुवात गरेको जेष्ठ नागरिक भत्ता सिंगापुरभन्दा बढी युरोपियन मोडेलको लोककल्याणकारी कार्यक्रम थियो । डा. रामशरण महत र महेश आचार्यजस्ता अर्थमन्त्रीका आर्थिक नीतिमा सिंगापुर मोडेलसँग तुलनायोग्य कुनै कार्यक्रम देखिँदैन ।

वर्तमान ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले  लि क्वान युको यो पुस्तक पक्कै पढेका होलान् । तर, सिंगापुर सफलताको मोडेल र ओली सरकारका नीतिहरु विपरीत लाग्छन् ।

हुन त  नेपालले सिंगापुरबाट सिक्नैपर्छ भन्ने छैन । ओली मोडेलले नै समृद्ध नेपाल बनेछ भने सायद त्यो विश्वका लागि अर्को दृष्टान्त हुन सक्छ । तर, अर्थशास्त्रीय विकास मोडेलहरुको आधारभूत ज्ञानको तुलानात्मक निचोड त्यति सुखद लाग्दैन । विशेषतः ‘क्रिएटिङ्ग अ फाइनान्सियल सेन्टर’ पढ्दा ओली सरकारका आर्थिक नीतिहरुले निक्कै निरास बनाउँछ ।

हुनतः ओली सरकारले पनि भर्खरै लगानी सम्मेलन गरेको छ । तर, यो सम्मेलनपछि विश्व समुदायले ‘कम्युनिष्ट’ भनिएको तर ‘कन्फूज्ड’ सरकारलाई कसरी बुझ्छ ? हेर्न बाँकी नै छ ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *