बुद्धकृष्णको मन दुखेको छ

१ वैशाख, भक्तपुर । सँस्कृति र सम्पदाको धनी भक्तपुरको बोडे अहिले बिस्का जात्राले छोपिएको छ । बिस्काको रमाइलोसँगै यही समयमा पर्ने जिब्रो छेड्ने जात्राको तयारीमा छन् स्थानीय ।

प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । यो बोडेको मात्र होइन, देशकै साँस्कृतिक परिचय हो । बिस्कामा बोडेबासीसँगै बाह्य र आन्तरिक गरेर हजारौँ पर्यटक रमाउँछन् । तर, सबै रमाइरहेका बेला पनि बुद्धकृष्ण बाग श्रेष्ठको मन रमाएको छैन ।

बुद्धकृष्ण उनै हुन्, जसले भोलि सोमबार सातौं पटक जिब्रो छेडाउनु छ । जात्रा लोप हुने संकट आइपरेपछि २०६२ सालमा उनले पहिलोपटक जिब्रो छेडाएका थिए । लगातार चार वर्ष जिब्रो छेडाएका उनले पाँचौ वर्ष पारिवारिक कारणले निरन्तरता दिन सकेनन् ।

बुद्धकृष्णलाई समस्या पर्दा जुजुभाइ श्रेष्ठ अगाडि आए । उनले ०६६ सालदेखि लगातार आठ पटक जिब्रो छेडाए । नवौं वर्ष जुजुभाइलाई पारिवारिक समस्या आइपर्‍यो । ‘अब जिब्रो कसले छेडाउला त ? बोडेबासीको मनमा अनेक तर्कना चलिरहेका बेला ०७४ सालमा उनै बुद्धकृष्ण पाँचौ पटक जिब्रो छेडाउन तयार भएका थिए ।

०७५ सालमा पनि उनले नै जिब्रो छेडाए । यसपटक भने बुद्धकृष्ण दोमनमै थिए । गत हप्ता बोडेमा भेट्दा उनको मनमा जिब्रो छेड्ने जात्रालाई लिएर सयौं प्रश्न मडारिएका थिए ।

‘बुद्धकृष्णले नै जिब्रो छेडाउँछन्’ भनेर स्थानीय ढुक्क देखिँदा बुद्धकृष्णले भनेका थिए, ‘यसपटक मलाई जिब्रो छेडाउन मनै छैन । आफ्नो ठाउँको जात्रालाई लोप किन गराउने भनेर नभनी बसेको कत्ति कुराहरु यसपटक भन्नै पर्ने भएको छ ।’

बुद्धकृष्णको मनमा उठेका प्रश्नहरुको जवाफ त पाएका छैनन् तर, जात्राको परम्परा अनुसार दाम चढाएकाले यसपटक पनि बुद्धकृष्णले नै जिब्रो छेडाउने पक्का भएको छ ।

दाम नचढाएसम्म कसले जिब्रो छेड्ने भन्ने पक्का हुँदैन । दाम चढाएपछि भने जेसुकै आइपरे पनि जिब्रो छेडाइन्छ । दाम चढाएपछि जिब्रो छेड्ने संकल्प भयो भन्ने मानिन्छ । जात्राको दुई दिनअघि गुसी अर्थात जंगलबाट ल्याएको काठ बालेर खरानीको टीका लगाइसकिएको छ । टीका लगाएसँगै जिब्रो छेडाउने व्यक्तिको ब्रत सुरु हुन्छ ।

सँस्कृतिको जगेर्ना र देशबासीको भलाइ हुने विश्वासका साथ बुद्धकृष्ण जसरी पहिलोपटक जिब्रो छेडाउन तयार भएका थिए, उसैगरी सातौं पटक पनि तयार त भएका छन् ।

तर, बुद्धकृष्णको मनमा वर्षौंदेखि बन्द भएका प्रश्न के थिए त ? किन उनलाई यो वर्ष जिब्रो छेडाउन मन थिएन ?

यसबारे चर्चा गर्नुअघि, जिब्रो छेडाउने जात्राबारे बोडेमा चलेका दुई किम्बदन्तीको चर्चा गरौं ।

पहिलो किम्बदन्तीः–

बोडे तल धर्मपुरमा रहेको नीलबाराहीको दायाँबायाँ बस्ने भूत, पिचास, ख्याकहरुले मान्छेको रुप धारण गरी कहिले खेतिपातिमा सघाउथे भने कहिले भोज भतेरमा आउने गर्थे । वनदेवी रिसाएका बेला भने सक्कली रुप देखाएर तर्साउने, दुःखकष्ट दिने गर्दथे । त्यसैले धर्मपुरबाट मानिसहरु बोडेमा सरे । बस्ती सार्दा पनि ख्याकले दुःख दिन नछाडेपछि तान्त्रिकको खोज्दा भेटियो, देवपतनका भिमदत्त कर्माचार्य ।

भीमदत्तले तान्त्रिक विधिअनुसार बोडेलाई घेरेर नदेखिने पासो थापे, जसमा ख्याक परेको थियो । निलबाराही ढोकाको पाले ख्याकको स्वरुप देखेर रिसाएका गाउँलेले कसैले कपाल तानिदिने, कसैले लुगा फुकालिदिने, कसैले भाग्ला भनेर खुट्टा समाउने, कसैले जिब्रो छेडाउने गरिदिए । दुःख सहन नसकेको ख्याकले गाउँलेलाई केही नगर्ने र सात वर्षसम्म उनीहरुको अघि आएर जिब्रो छेडाउने बाचा गरेपछि महालक्ष्मी मन्दिरमा लगेर जिब्रोमा छेडेको सियो झिकिदिएका थिए ।

तर यो निलबाराहीलाई मन नपरेकाले गाउँलेलाई दुःख भइरह्यो । तान्त्रिक भिमदत्तको सपनामा निलबाराही प्रकट भएर तन्त्र जान्यो भन्दैमा ख्याकलाई दुःख दिन नहुने बताइन् । त्यसैले क्षमापूजा गर्नुपर्ने भयो, जुन जिब्रो छेड्ने अघिल्लो दिन अहिलेसम्म पनि गरिन्छ ।

निलबाराहीले ख्याकलाई दुःख नदिनु, देश र जनताको हित गर्न अरु मानिसलाई बोलाएर पनि जिब्रो छेडाउन सकिन्छ भिमदत्तको सपनामा भनेकी थिइन् । तर, सात वर्षसम्म ख्याकको जिब्रो छेडाएपछि आठौँ वर्ष जात्रा छाड्दा केही नराम्रो होला कि भन्ने डर र जात्रा मनाउँदा रमाइलो हुने भएकाले स्थानीयकै जिब्रो छेडाएर जात्रा निरन्तर गरे ।

दोस्रो किम्बदन्तीः–

धर्मपुरमा मान्छेहरु खेतिकिसानी गरेर परिवार चलाइरहेका थिए । धर्मपुरदेखि माथिको डाँडा बोडेमा भने उस्तो आवतजावत थिएन । त्यसैले बोडेमा के छ भन्ने थाहा थिएन ।

बस्ती छाडेर माथिल्लो डाँडामा जान उनीहरुलाई डर पनि भयो । यस्तैमा एक दिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो । आगो बोकेर को आयो भनेर मान्छेहरु हेर्न गए । बत्ति बोकेको मान्छेको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँमा आगो बोकेको मान्छे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँनेर अलप भयो ।

हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो ।

महालक्ष्मीको मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही कुरा निरन्तर गरुन् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।

वर्षमा एक दिन भएपनि सबै मान्छे भैरवले जस्तै देउता घुमौँ भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिरहरु परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतिपातिसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेड्ने, चिराग लिएर जाने गरिन्छ । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ ठिक हुन्छ भन्ने विश्वासमा त्यसै गरिन्छ ।

बुद्धकृष्णलाई मन नपरेको कुरा

बोडेका बुढापाकासँग कुरा गर्दा मुख्य रुपमा दुई किम्बदन्ती सुनिएपनि यसै भएको हो भन्ने कुनै ऐतिहासिक आलेख छैन । कुनै त्यस्तो लिखत पनि भेटिएको छैन । जे भए पनि उनीहरुले देखेदेखि नै जिब्रो छेड्ने जात्रा धुमधामले मनाउँदै आइएको छ ।

तर, जिब्रो छेड्ने जात्रामा ‘ख्याक’ को जिब्रो छेडिएको भनेर गरिएको प्रचारले बुद्धकृष्णको मन दुखेको छ । आफ्नो सँस्कृति, जात्राको निरन्तरता, देशको भलो हुने विश्वासलाई एकातिर छाडेर ख्याकको रुपमा प्रस्तुत गरिनु राम्रो लागेको छैन ।

‘अब जिब्रो छेड्ने मान्छे कोही निस्केन भने जात्राबारे नकारात्मक कुरा लेख्नेलाई नै ल्याएर जिब्रो छेडाउनुपर्छ । जात्रालाई नै लोप बनाइदिन खोज्ने ? बुद्धकृष्णले आक्रोश पोखे ।

‘थिमीमा पनि बेलाबेला जिब्रो छेडाएर जात्रा गरिन्छ । उनीहरुको जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई देउता मानेर पूजा गरिन्छ ।

बोडेमा जिब्रो छेड्ने ख्याक, अनि ठिमीमा जिब्रो छेड्ने चाहीँ देउता ? बुद्धकृष्णकाे प्रश्न छ ।

नेवारी सँस्कृतिबारे कलम चलाउँदै आएका बोडेका ६० वर्षीय प्रेम के निडरलाई पनि आफ्नो संस्कृति नै लोप हुने गरी नकरात्मक प्रचार मात्रै भएको नराम्रो लागेको छ ।

‘जात्राबारे चलेको कुरा सामान्य नागरिकले पनि ठिक हो भनेर बुझ्ने गरी कुरा नै आएन । देश र जनताको लागि राम्रो होस्, सुख शान्ति होस्, रोगब्याधी नलागोस् भनेर नै जिब्रो छेडेको हो’ निडर भन्छन्, ‘हाम्रो संस्कृतिको कुरा बाहिरको मान्छेले लेखिदिँदा बिग्रिएको छ । जात्रा कसरी राम्रो पार्दै लैजाने भन्ने पो सोच्नुपर्छ ।’

‘बुझेर लेख्ने मान्छे कम भए । लेख्दा जनमानसमा कस्तो प्रभाव पर्छ भन्ने पनि सोच्नुपर्छ । जिब्रो छेड्ने मान्छे ख्याक हो भने अर्को वर्षदेखि को जिब्रो छेड्न आउला त ?’

बोडेबासीको चिन्ता पनि नेवारी सँस्कार संस्कृति लोप गर्ने कि संरक्षण गर्दै लैजाने भन्नेमा छ । आखिर सभ्यता र सम्पदाको परिचय पनि यस्तै जात्रा तथा पर्वहरु नै हुन् । जिब्रो छेड्ने जात्रा पनि बोडेको मात्रै नभएर सिंगो देशले नै गौरव गर्ने साँस्कृतिक परिचय हो ।

कति दुख्छ अरुलाई के थाहा ?

यहि समयदेखि जिब्रो छेडाउन थालियो भन्ने थाहा नभए पनि अहिलेसम्म १३ जनाले जिब्रो छेडाएको नाम भेट्न सकिन्छ ।

बेखनारायण श्रेष्ठले ३२ पटक जिब्रो छेडाएका छन् । त्यसपछि हर्कनरसिंह बाग श्रेष्ठले २२ पटक ।

हरिदेव श्रेष्ठले १ पटक, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, चन्द्रसेन श्रेष्ठले ७, दिलकुमार श्रेष्ठले ७, हर्केश्वर श्रेष्ठले ३, मुनि श्रेष्ठले १, धर्मराज श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ श्रेष्ठले आठ र बुद्धकृष्णले ६ पटक छेडाएका छन् ।

कृष्णचन्द्र अहिले जिब्रो छेड्न लागेका बुद्धकृष्णकै दाइ हुन्, जो अहिले जिब्रो छेडाइदिने काममा छन् ।

‘मैले जिब्रो छेड्दा कति दुःख्छ ? जिब्रो छेड्दै टोल टोलमा डुल्न कति गाह्रो हुन्छ ? त्यो नछेड्ने मान्छेलाई के थाहा’ ४७ वर्षका बुद्धकृष्ण भन्छन्, ‘डाक्टरले लट्याउने सुई हालेर सानो अप्रेसन गर्दा त दुख्छ भने यत्तिकै जिब्रो छेडाउँदा कति दुख्छ होला त ?’

उनी गुनासो मिश्रित भावमा भन्छन्, ‘बोडेकै मान्छेले त बुझेका छैनन् भने अरुले कसरी बुझुन् ?’

३९ वर्षका जुजुभाइ श्रेष्ठको अनुभव पनि बुद्धकृष्णको जस्तै छ । हरेक पटक जिब्रो छेडाउँदा पहिलोपटक जस्तै डर लाग्छ । रगत आएर अशुभ हुने हो कि भन्ने चिन्ता हुन्छ । किनभने जिब्रो छेड्दा रगत आयो भने बिघ्न बाधा आइपर्छ भन्ने जनविश्वास छ ।

‘नयाँ काम गर्न त खोजेँ तर अनिष्ठ हुने हो कि भन्ने लागिरहेको थियो’ पहिलोपटक जिब्रो छेडाउँदाको समय सम्झँदै जुजुभाइ भन्छन्, ‘जब जिब्रो छेड्ने भनेर बाहिर निस्किएँ, धुप बत्ती अक्षता चढाएर मञ्चमा जाँदा मानिसहरुको भीड जम्मा भइसकेको थियो । रगत आयो भने आफ्नो बेइज्जत पनि हुन्छ जस्तो लागेको थियो ।’

जब एक महिना अगाडि बनाएर तेलमा डुबाइराखेको झण्डै एक फिट लामो सुइरोले जिब्रो छेडिसक्दा रगत आएन, तब उनलाई सबै पीडा मेटिएको जस्तो अनुभूति भयो ।

पछिल्लो १५ वर्षमा जुजुभाइ र बुद्धकृष्ण दाजुभाइ बाहेक अरु जिब्रो छेडाउन तयार नहुनुले पनि कत्ति गाह्रो काम हो भन्ने बुझ्न सकिन्छ
तीन दिनको भोक पनि हराएर शरीर चङ्गा भयो । महाद्वीप बोकेर टोल टोल डुल्दा पनि जुजुभाइले अरु केही सोच्नै सकेनन् । तीन दिनदेखि ब्रत बसेका उनलाई घर पुगेपछि भने नुन खान मन लाग्यो । कालो चिया खाए । ग्यास्टिकले बान्ता भयो । केही दिन न गाह्रो नै भएको थियो । जुजुभाइ बिरामी भयो भनेर साथीहरु भेट्न आए ।

जुजुभाइ भन्छन्, ‘हामीले यो काम जति पटक गर्दा पनि ढुक्क भएर गर्ने काम होइन, डर नै हुन्छ ।’

परिवारको साथ ठूलो

जिब्रो छेडाउने एकजना मात्रै भएपनि त्यसका पछाडि धेरै जनाको मेहनत लुकेको हुन्छ । सियो बनाउने, बाजा बजाउनेदेखि पूजा तयार पारेर गर्नेसम्म निरन्तर लागिरहेका हुन्छन् । सबैमा जिब्रो छेडाउने मान्छे को होला भन्ने चिन्ता हरेक वर्ष रहन्छ ।

यो वर्ष त बुद्धकृष्ण जिब्रो छेडाउन तयार भए । आउने वर्षहरुमा को तयार होलान् ? नयाँ पुस्ता निरन्तरता दिन तयार होलान् ? ‘आवश्यक पर्दा कोही न कोही आइहाल्छन् । यसपाली बुद्धकृष्णले नगर्ने भन्दापनि कोही आउँथे जस्तो लाग्छ’ स्थानीय प्रेम के निडर भन्छन् ।

उनको कुरा भइँमा खस्न नपाउँदै जुजुभाइले प्रतिप्रश्न गरे, ‘आउँछ भन्ने कुरा मात्रै होइन, तपाईँले तपाइँका छोराहरुलाई बुझाउन सक्नुपर्‍यो । उनीहरु पनि तयार हुनुपर्‍यो । तपाईँले आफ्ना छोरालाई बुझाउनुभएको छ ? हौसला दिनुभएको छ ?’

पछिल्लो १५ वर्षमा जुजुभाइ र बुद्धकृष्ण दाजुभाइ बाहेक अरु जिब्रो छेडाउन तयार नहुनुले पनि कत्ति गाह्रो काम हो भन्ने बुझ्न सकिन्छ ।

‘मैले त मेरो छोरालाई गराउन खोजेको हो । अहिले कोरिया गएको जेठो छोराले गर्न खोजेको पनि थियो । सानो छोरालाई पनि म आफूले गरेको बेला नजिकै राख्छु, त्यसले गर्दा उसले पनि हेरेर बुझ्छ जस्तो लाग्छ’ बुद्धकृष्णले भन्छन्, ‘साथ दिनुपर्ने भनेकै घर परिवारले हो । संसार भनेकै घर हो । घरबाट साथ पाइयो भने त अरुको साथ पाइहालिन्छ ।’

जुजुभाइ पनि भन्छन्, ‘आफू एक जनाले मात्र गर्छु भनेर पनि भएन । परिवारको साथ चाहियो । सामूहिक काम भएकाले सबैको सहयोग चाहियो । जिब्रो छेड्न तयार हुने बेलादेखि जिब्रो छेड्ने व्यक्तिले दिनुपर्ने भोजमा पनि सहयोग त चाहिन्छ नै ।’

आफूले जिब्रो छेडाउँदा कति गाह्रो हुन्छ भन्ने बुझेकाले अहिले जुजुभाइ बुद्धकृष्णको साथ छाड्दैनन् । कुन बेला के चाहिन्छ, कुन बेला के हुन्छ भन्ने थाहा पाएका उनी काम नसिद्धिएसम्म बुद्धकृष्णलाई सहयोग गरिरहन्छन् ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *