मदिराले मोडेको जीवन : पियनदेखि ठूला होटेल व्यवसायीसम्म

१ वैशाख, बुटवल । पाल्पा सिरुखर्क, मालमुलको विद्यालयमा शिक्षक, तलब महिनाको २५० रुपैयाँ । त्यसमध्ये २२५ रुपैयाँ बुबालाई बुझाउनुपर्ने । छोराको तलबले परिवारमा खुशी ल्याउँथ्यो ।

तर एक पटक भनेजस्तो भएन । तलब आएको दिन साथीभाइले रमाइलो गरौं भने । गाउँकै एकजना मगर दाजुको घरमा उनीहरु बसे । सबैले कुखुराको मासु र रक्सी खाए । साथीभाइको करले पहिलो पटक मुखमा रक्सी हालेका उनलाई कतिले मात लाग्छ, पत्तो भएन । अबेरसम्म खाएर राति ढुन्मुनिदै घर पुग्दा आमा कुरेर बसेकी रहिछन् ।

छोराको चालामाला देख्नेबित्तिकै आमा रुन थालिन् । उनले भनिन्, ‘बा सात गाउँमा श्राद्ध गर्दै हिँड्छन्, तँ रक्सीले मातेर हिँड्ने भइस् । भोलि उज्यालो भएपछि हामीले कसरी मुख देखाउने…?’

एक वर्षपछि मालमुलमा सरुवा हुँदा तलब बढेर २५० रुपैयाँ पुगेको थियो । त्यतिबेला उनी २२ वर्षका थिए, माधव । युवावस्थामा साथीसंग रौसिदा जागीर मात्र होइन, घरै छाड्नुपर्ने खण्ड आइपरेको थियो ।
त्यो खैलाबैलाबाट ब्युँझिएका बा पनि छोराको ताल देखेर मर्माहत भए । बाआमा रातभरि सुत्न सकेनन्, रिडीतिर गएर छोराको पाप कटाउने सल्लाह गर्दै उज्यालो पारे ।

विहान भात खाएर स्कूलतिर लाग्दा मनमा आँधिबेहरी चलिरह्यो । बाआमालाई रिडी जानबाट रोक्न आफैंले घर छाड्ने निर्णयमा पुग्यो छोरा । ‘तीन घन्टी पढाएपछि हेडसरसंग दुईसय रुपैयाँ सापटी मागेर फर्की आएछु भने पढाउँछु नत्र अर्को व्यवस्था गर्नुहोला भनेर विदा मागेँ’, ६० वर्षीय होटल व्यावसायी माधव नेपाल सम्झन्छन् ।
अनि जीवन बदलियो

पाल्पाको देउराली (हाल रिब्दिकोट– २ लघुवा) मा २०१५ चैतमा जन्मेका माधव घरको जेठो छोरा थिए । दुई दिदी, दुई बहिनी र एक भाइ भएका उनले पाँच कक्षासम्म गाउँमै पढे । ६ कक्षाबाट शुल्क तिर्नुपर्ने भएपछि उनी निशुल्क पढ्न पाइने ठाउँ बुढो मावलीमा बसेर पढ्न गुल्मीको ग्वादी गए । २०३६ सालमा प्रवेशिका परीक्षा उतीर्ण हुनेबित्तिकै उनी लुम्बिनी निमावि लुहुङ पाल्पामा शिक्षक भए । मासिक तलव १८५ रुपैयाँ थियो ।

एक वर्षपछि मालमुलमा सरुवा हुँदा तलब बढेर २५० रुपैयाँ पुगेको थियो । त्यतिबेला उनी २२ वर्षका थिए, माधव । युवावस्थामा साथीसंग रौसिदा जागीर मात्र होइन, घरै छाड्नुपर्ने खण्ड आइपरेको थियो । ‘त्यो साँझको केही घुट्को रक्सीले मेरो जीवनलाई अर्कै बाटोमा पुर्‍याइदियो’, उनी भन्छन्, ‘गाउँको शिक्षक जागीर छाडेर तानसेन, बुटवल, सुनौली हुँदै कलकत्ता पुगेर एउटा गार्मेन्ट कारखानामा झाडु लगाउने र मेसिनहरु पुछ्ने काम गर्न थालेँ ।’

मासिक तलव तोकिएको थियो, २२५ भारु । तर, काम पाएको पन्ध्रौं दिनमा कारखानाको रिसेप्सन अगाडि हाई गर्दा उनी निकालिए । हाई गर्दै ज्यान तन्काउनुलाई बंगालीहरुले घोर अशुभ मान्दा रहेछन् । त्यसपछि खोज्दै जाँदा जाँदा उनले बनिरहेको एउटा भवनको प्लास्टरमा पानी हाल्ने काम पाए ।

त्यहाँ काम गरेको ६ महिनामा घर पठाउन १२ पेजको चिठी लेखे । लेखेको देखेर साहुले पढे लेखेको थाहा पाए अनि ट्रान्सपोर्ट कम्पनीमा जागिर दिए । मासिक २५० भारु तलबमा दुईवर्ष काम गरेर उनी दशैंमा घर फर्के । ‘तानसेन आएर पैसा साट्दा २९ सय नेपाली रुपैयाँ भयो’, माधव सम्झन्छन्, ‘साँझ घर पुग्दा बुबाआमा रुनुभयो म पनि बेस्सरी रोएँ अनि २९ सय रुपैयाँ बुबाको हातमा राखिदिएँ ।’

शिक्षकको जागिर फुस्किसकेको थियो । माधवले बुटवलतिर केही गर्ने बिचारले बुबाआमासंग सल्लाह गरेर २०४० सालमा २५ सय रुपैयाँले अस्पताल लाइनको भुड्कीचोमा चिया पसल खोले । दुई महिनापछि बुबा र ६ महिनापछि श्रीमती गमलालाई पनि गाउँबाट बुटवलमै बोलाए ।

एक त अनुभव थिएन, त्यसमाथि उधारो खाएर पैसा नदिनेहरु धेरै भए । पैसा माग्दा कतिले दादागिरि पनि देखाए । १० वर्ष चिया पसल गर्दा पनि खासै कमाइ भएन । ‘१० वर्षसम्म बुबासंग उधारो दशैं मनाएँ’, माधव भन्छन्, ‘आफन्तहरुले बाहुनको छोरो भएर अरुका जुठाभाँडा माझ्ने काम गर्‍यो भनेर हैरान खेलाए ।’

दिक्क भएर उनले चिया पसल मिलनचोकमा सारे । त्यति बेलासम्म दुई छोरा र एक छोरी स्कूल जाने भइसकेका थिए । खर्च बढ्दै थियो, तर आम्दानी थिएन । पुराना फलाम कवाडीलाई बेचेर चामल किन्नेसम्मको अवस्था आयो ।

२०६२ सालदेखि बुटवलकै ठूलोमा गनिने पर्यटकस्तरीय न्यु इरा सञ्चालन गर्न थाले । माधव र गमला नेपाल दम्पत्तीले होटल व्यवसाय गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई चार्टड एकाउन्टेन्ट बनाए ।
एक दिन चिया खान आएका लुम्बिनी क्याम्पसका लेक्चरर ईश्वर गौतमले कुराकानीका क्रममा होटल गर्न सुझाव दिए । माधवले पैसा छैन भने । पाल्पा नै घर भएका गौतमले माधवमा त्यस्तो के देखे कुन्नि, २ लाख ३० हजार सापटी दिएर ट्राफिक चोकको सन्दीप होटल किनाइ दिए ।

होटल त शुरु गरे तर त्यहाँ पनि उधारो खाएर दादागिरी गर्नेहरुले हैरान पारे । जसोतसो २२ महिना चलाएर एक लाख नाफा निकालेर माधवले होटेल बेचे । ‘अनि अस्पताललाइनमा मासिक १४ हजार भाडामा घर लिएर होटल न्यू इरा शुरु गरेँ’, उनी भन्छन्, ‘त्यसबेला पैसा जोगाउन श्रीमतीसंग एक सातासम्म सुनौली धाएर एक–एक जोरका दरले सिरक–डसना जम्मा गरेका थियौं ।’

सफलताको सूत्र

अब चाहिँ माधव दम्पत्तीलाई होटल व्यावसायले फाप्न थाल्यो । दलहरुका ठूला नेता बुटवल आउँदा होटल न्यू इरामै बस्न थाले । होटलको आयबाट इट्टाभट्टामा तीन कठ्ठा जग्गा पनि किने । त्यो घर अस्पताल सञ्चालन हुने भएपछि उनीहरुले होटल नयाँ बसपार्कमा सारे । संगै श्रवणपथमा पनि अर्को होटल चलाए ।

२०६० सालमा श्रवणपथको होटल बेचेर इट्टाभट्टाको जग्गामा होटल बनाउन शुरु गरे । २०६२ सालदेखि बुटवलकै ठूलोमा गनिने पर्यटकस्तरीय न्यु इरा सञ्चालन गर्न थाले ।
माधव र गमला नेपाल दम्पत्तीले होटल व्यवसाय गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई चार्टड एकाउन्टेन्ट बनाए । छोरीले पनि बेलायतमा होटेल म्यानेजमेन्ट पढिन् । माधवले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको छाता संस्थाको जिल्लादेखि केन्द्रसम्मको नेतृत्व गरे ।

नेपाल दम्पत्ति अहिले पाल्पा र बुटवलको सीमाना नुवाकोटमा डेढ अर्ब लागतको केबुलकार परियोजनामा साझेदार बनेका छन् । नुवाकोटमै निर्माणाधीन ५० करोडको रिसोर्टका परिकल्पनाकार र सञ्चालक पनि यही दम्पत्ति हो । उनीहरुको एकल लगानीमा बुटवलको बेलबासमा पनि रिसोर्ट सञ्चालन हुदैछ ।

यो व्यवसायिक सफलताका पछाडि मेहनत, धैर्य, इमान्दारी र सबभन्दा महत्वपुर्ण परिवारको साथ रहेको माधव बताउँछन् । ‘आज म जे छु रातारात हैन, साढे तीन दशकमा भएको हुँ’, उनी भन्छन्, ‘निरन्तर मेहनत, धैर्य, इमान्दारी गुणस्तरीय सेवा र परिवारिक सहयोग नै मेरो शक्ति हो ।’

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *