नेपाल, विश्वका पर्वतारोहीको आकर्षणको केन्द्र

हिमाल आरोहणको उपयुक्त मौसम शुरु हुनासाथ अहिले सर्वोच्च शिखर सगरमाथा सहित अग्ला हिमशिखर चढ्न विदेशी आरोहीहरुको लर्को लाग्न थालेको छ । यो सिजनमा मात्रै शुक्रबारसम्म ७५ वटा समूहले पर्यटन विभागबाट सर्वोच्च शिखर सगरमाथा, कन्चनजंघा,लोत्से, अन्नपूर्ण, धौलागिरिसहित २० वटा हिमाल आरोहण गर्ने अनुमति लिएका छन् । तीमध्ये सगरमाथा चढ्ने मात्र ३१ वटा विदेशी र ४ वटा नेपाली समूह छन् । यसबाहेक नेपाल पर्वतारोही संघबाट ४ हजार ५ सय मिटर अग्ला हिमाल आरोहणका लागि २ सय ७० समूहले अनुमति पाएका छन् । हिमाल आरोहणका लागि आउने पर्यटक अझै थपिँदै छन् । हिमाल आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त समय मानिन्छ । त्यसैले धेरै पर्वतारोही यही मौसममा हिमाल चढ्न आउँछन् । पर्वतारोहण अनुमति बापत सन् २०१९ को यो पहिलो सिजनमा पर्यटन विभागले ४५ करोड १३ लाख राजश्व संकलन गरेको छ । यो सिजनमा हिमाल चढ्नेहरु अघिल्ला बर्षमा भन्दा धेरै हुने विभागको अनुमान छ । ४५ देशका ६५ जना महिला सहित ३ सय ५१ आरोही हिमशिखर क्षेत्र प्रस्थान गरिसकेका छन् । आरोहणका लागि सबैभन्दा धेरै भारतीय ७७, अमेरिकी ६७, चिनियाँ ५९ र बेलायती ४० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहण गर्न विदेशीलाई प्रतिब्यक्ति ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ दस्तुर लाग्छ । नेपालले पाँच हजार ८ सय मिटर अग्ला १७ हजार हिमालमध्ये ४ सय तीन वटा मात्रै आरोहणका लागि खुला गरेको छ ।

Source: ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *