कविताः मीठो अनुभव

भदौ, २०७५

चण्डिका भट्टराई

यो आभास, यो अनुभूतिको वर्णन गर्न
शब्द कहाँ भेटुँ म
तिम्रो उपस्थितिको यो असीम आनन्दको अनुभव कसरी समेटुँ म
शरीरमा देखिएका अनेकौं परिवर्तनलाई भुलेर बस
तिमीलाई सम्झँदै छु म
यो पीडा, यो दुखाइलाई अँगाल्दै एक एक पल खै
कसरी रम्दै छु म ।
डुबेर तिम्रै कल्पनामा सपना मीठा मीठा सँगाल्दै
छु म
लामो प्रतीक्षापछिको मिलनका लागि आफैलाई यसरी सम्हाल्दै छु म ।
धैर्यतालाई च्यापी तिम्रो आगमनको दिन गन्दै छु म
यस्तो लाग्छ स्पर्श तिम्रो पाएर अब भाग्यशाली नारी बन्दै छु म ।
सुर, ताल नमिले पनि तिम्रो लागि गीत गुनगुनाउँदै छु म
असह्य पीडा छ शरीरमा तैपनि तिमीलाई सम्झी मुस्कुराउँदै छु म ।
अस्तित्व आफ्नो थाँती राखी यो मीठो अनुभव बटुल्दै छु म
आमा बन्नुको खुसीमा रमी बिस्तारै सबै भुल्दै छु म
बिस्तारै सबै भुल्दै छु म

-काठमाडौं

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *