कविताः निर्मलाका हत्यारा खोई ?

भदौ ३०, २०७५

-डिल्ली आमई

सत्ताको भोकले रोइरहने
इतिहास बेचेर
हुँडार कलाको सौर्यबाट
कचारा रसाएर
बगिरहेका आँशुहरू पिउँदै
रात्रिमा निसहाय नानीहरू
बाटो ढुकेर ठुङ्दै हिँड्ने
पदका भिकारीहरू हो ,
निर्मलाका हत्यारा खोइ ?

तिम्रा इज्यतलाई धिक्कारी रहेछन्
तिम्रा सडकका ईश्वरहरूले
आकाश पातालबाट बोलिरहेछन्

कथित नगर पिचासहरू हो बाटो छोड
न्याय र सुरक्षाका ठेक्दारहरू हो
कि त निर्मलाको हत्यारा पत्ता लगाऊ
हैन भने,
निर्मल निर्मलाको चिरहरण
मृत्युका प्रमाण दबाएर
अँध्यारोमा रुन बन्द गर

तिम्रा छायाको कालो आकृतिमा
तिम्रा राक्षसी वीर्यसँगै
जनताले तेजाब खन्याउने छन् एक दिन
रुन्चे नौटङ्की अब बन्द गर
जनताले बुझ्दैछन्
तिम्रा छलछामका कुरा
तिम्रा तामसी सल्लाह

यो त पक्का छ ब्वाँसाहरू हो
विशाल ज्वालामुखीको आगोमा
कलङ्कको मैलोले गन्हाएको तिम्रो देह
खरानी पारिनेछ एक दिन
बास पाउने छैनन् तिम्रा सन्तानले
कन्दराबाट निस्केका सुइरा
सुल बनेर
तिम्रै देह छिचोल्नेछ एक दिन

बन्द गर गोहीका आँशु खसाल्न
तिम्रा लाहगृहका कथाहरू लुकाएर
किनकि
तिम्रा ईश्वरले तिम्रो विश्वासघातमा
सडकबाट प्रश्न सोधिरहेछन्
तिम्रो भकारोमा मल मूत्र त्याग्ने
तिम्रा प्रिय तर
निर्मलाका हत्यारा खोइ ?

यही पारा हो भने अब
दिनहरू छोटिँदैछ तिम्रो
क्यालेन्डरमा दिनहरू गनेर बस
किनकि राहु घुमिरहन्छ
चन्द्रमाको चक्रले
अँध्यारो औँशीको रात्रिमा पनि
समुद्रमा
ज्वार ल्याउन बिर्संदैन
त्यही आँधीले
तिमीमाथि ओडाएको
सेतो कात्रो
अनि बलात्कारले बिटुलिएको
पिताम्बर पनि
लैजानेछ हुरीले उडाएर
हैन भने बताऊ
निर्मलाका हत्यारा खोई ?

-बेल्जियम

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *