कविताः रहरहरू

भदौ, २०७५

-इन्द्रकुमार श्रेष्ठ सरित

कति पल बाँचियो जिन्दगी
कति प्रहर साँचियो जिन्दगी
यसको लेखाजोखा मैले गरेकै छैन
बाँचे कि बाँचिनँ यो सत्य, यो भ्रमलाई
साँच्चै हो, मैले कहिल्यै जाँचिनँ

बाँच्नुको महत्तालाई मैले कहिल्यै लत्याइनँ
सटक र गल्लीहरूमा रुमल्लिए पनि
जीवनको सार्थकतालाई कम कहिल्यै आँकिनँ
जीवनलाई ढुकढुकीझैँ मैले अँगालिरहेँ
तर जीवनले मलाई जहिल्यै उपेक्षा गरिरह्यो आफन्तजस्तो गरेर नि कहिल्यै आफन्त ठानेन

जीवन हिँड्ने गोरेटाहरू कहिल्यै सहज रहेनन्
प्रत्येक मोड र गल्छेँडाहरू अवरोध बनेर ठडिरहँे
पहिरोमा बाटो पहिल्याउनु सजिलो थिएन
तैपनि गोडाहरूलाई कुँजिन मन्जुर थिएन

अप्ठ्यारा, पीडा र चोटबाहेक अरू केही भएनन्
हुस्सु र बादललाई चिरेरै घाम हेर्ने रहर कम पनि भएनन्
पसिनालाई रोपेर अनन्त बाँझो जमिनमा
सपनाहरू रहरहरू निरन्तर निरन्तर झ्याँगिरहे
तर साँझको पाहुनालाई तिमी आयौ भन्ने कोही भएनन्

घर स्याहारियो, बारी स्याहारियो, आँगन स्याहारियो
आफैलाई बिर्सेर चुहिने छानो टालिरहियो
तर आफूले थाहै नपाई घर त धर्मशाला पो बनिसकेछ
अतिथि देवभवः भन्दाभन्दै बनसाङ्लाले घरसाङ्लालाई लखेटिसकेछ
कोठाबाट पिँढी, पिँढीबाट आँगन हुँदै अब यात्रा हो कताको
अन्यौलको भुँमरीले हाल्दा छारकाप्रो
आँखा नुनिलो पानीले भरिई रह्यो ।

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *