कथाः मनको विनाश

भदौ, २०७५

-रवीन्द्र अनुराग

एउटा जङ्गलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनीहरूमा वर्षांैदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला र मूलहरू सुकिसकेका थिए । ती तिर्खाएका जोडी ढुकुर एक दिन पानी पिउन भनेर नदीको किनारमा गएछन् । गर्मीका कारण नदी घटेर जहाँजहाँ गहिरो खाल्डो थियो, त्यहीँ मात्र पानी जमेको थियो । पानी पिउनका लागि असहज थियो । तर जोडी ढुकुर धेरै तिर्खाएकाले त्यही धरापमा भए पनि पानी पिउने अठोट लियो ।

तर पोथी धेरै डराएकीले भालेले भन्यो “तिमी यहीँ बस, म चुच्चोमा च्यापेर पानी ल्याउछु है ।” पोथीले सहमति जनाएपछि भाले ढुकुर पानी पिउन अलि सानो खाल्डोमा ओर्लियो । त्यहीँ छेउमै हिलोमा लत्पतिएर बसेको भोकाएको गोही उसले देखेन । दाउ छोपेर बसेको गोहीले फुर्तिसाथ भाले ढुकुर माथि आक्रमण गर्यो र एकै गाँस पारिहाल्यो । पोथी ढुकुरले असहाय भई हेर्नबाहेक अरू केही गर्न सकिन । धरधरी आँखाबाट आँसु झार्दै फुर्र उडेर पहिलाको बासस्थानमा पुगी । भालेको विरहमा मर्नुबाहेक अरू केही विकल्प देखिन र “म पनि अब त्यहीँ खाल्डोनिर जान्छु र मलाई पनि खान्छ गोहीले” भनेर रातभर भाले सम्झेर रोइरही ।

त्यो रात रातभरि पानी परेर पहाडतिरबाट भेल आएर नदीको बहाव पनि बढेछ । हिजोको खाल्डाखुल्डी सबै भरिएर किनारासमेत छोपिइसकेको रहेछ । पोथी त्यत्तिकै फर्की । अर्को दिनपनि त्यस्तै भयो… एवम् रीतले धेरै दिन मर्ने प्रयास गर्दा पनि पोथी ढुकुर मर्न सकिनँ । काल नआएसम्म कसको के लाग्छ र ? धेरै दिन यसरी बितेपछि उनको मर्ने सोच नै फेरिएछ । केही दिनपछि पीडा पनि बिस्तारै कम हुँदै गएछ र अब मर्दिनँ भन्ने सोच मनमा आएछ । शोकमा धेरै दिन केही नखाई बसेकी ढुकुर्नी एक दिन आहाराको खोजीमा भौंतारिँदै जाँदा उसको एउटा अर्को भाले ढुकरसँग भेट हुनपुगेछ ।

बिस्तारै बिस्तारै त्यो भाले ढुकुरले प्रेम जालमा फसाएछ र एक दिन भाले ढुकुरले विवाह बन्धनमा बाधिऔँ भन्ने प्रस्ताव राखेछ । अनि दुवैको सहमतिमा विवाह पनि भएछ । केही दिन त खुशीमै बित्यो दुवैको । तर बिस्तारै बिस्तारै समय बित्दै जाँदा त्यो भाले ढुकुरले ऊप्रतिको माया घटाएछ र तँ यस्ती र उस्ती भनेर अनेकौँ बात लगाउँदै ढुकुर्नीसँगको प्रेम सम्बन्ध छुटाएछ । अनि पोथी फेरि बिचल्लीमा परि र मनमनै– “यो संसार भनेको केवल स्वार्थी मात्र रहेछ । आफ्नो जस्तै अरूको सोच नहुँदो रहेछ । कसैलाई पनि मनदेखि विश्वास गर्नु भनेको जीवनमा आफैले आफूलाई खाल्डो खन्नुरहेछ भन्ने सोच्न थाली । अब के गर्ने कता जाने ? कयौं दिन मनभित्र कुरा खेलाउँदै खेलाउँदै आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी धेरै दिन शोकमा बसी । जबसम्म शरीरमा ताकत थियो तबसम्म त जेनतेन चल्यो । तर केही पहिलाको शोक र केही पछिको पीडाले १४, १५ दिनसम्म भोकभोकै बस्दा एक दिन सधैंका लागि यो संसारबाटै बिदा भई ।

-महाकाली नगरपालिका–३,कञ्चनपुर
हालः पश्चिम रुकुम, सल्ले एयरपोर्ट ब्यारेक

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *