कविताः म बुहारी कसैकी

भदौ, २०७५

-सुवर्ण ढकाल

म बुहारी कसैकी,
एकछिन टुक्रुक्क बस्न फुर्सद नमिल्दा
गलेर लखतरान भएको कसैले नबुझ्दा
हरेक काममा सासूको अब्जस खेपिरहँदा
खोइ कसले बुझ्ने मलाई ?
खोइ कसले माया गर्ने ?
आखिर
म त अर्काकी छोरी न परेँ
म त काम गर्ने मान्छे नभएर
घरका कामधन्दा धेरै भएर
सबैतिर भ्याउने मेसिन जस्तै
आखिर बुहारी न परेँ
आखिर बुहारी न परेँ ।

मीठो खान मन लाग्दा
राम्रो लाउन मन लाग्दा
आफ्ना छोरीलाई प्याउली पार्ने
सासूको मुखबाट म चाहिँ
खान नपाकी रे
लाउन नपाकी रे
आखिर
म अर्काकी छोरी न परेँ
म तिम्री बुहारी न परेँ ।

सबै काममा तिम्रो चित्त बुझाउन कहाँ सक्छु र ?
तिमीले लादेका एक एक नियममा बाधिन म कहाँ सक्छु र ?
ठूलो सपना सजाएको थिएँ
पक्कै, माइतीघरभन्दा कम हुने छैन तिम्रो घर
तिम्लाई खुशी पार्ने ठूलो सपना बुनेको नि थिएँ
तर सासूआमा
मेरो कामबाट कहिल्यै खुशी बनाउन सकिनँ
तिम्रो परिवारमा कलङ्क भैदिएँ
दुनियालाई तिमीले सुनाउने कुरो बनिदिएँ
आखिर म अर्काकी छोरी म परेँ
तिम्री बुहारी न परेँ ।

-सूर्योदय–१, इलाम

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *